top of page

 

 

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

 

अभिभारा : कुनै कामको जिम्मेवारी, उत्तरदायित्व

उजागर : बाहिर ल्याउनु, प्रकाश पार्नु

घगडान : खुब अनुभवी, धेरै सिपालु

शनै: शनै: बिस्तारै बिस्तारै

इच्छाशक्ति : कुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा

समायोजन : वातावरण, परिस्थिति आदिसँग मिल्दोपन

 

 

२. दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् :

 

बहुमुखी व्यक्तित्व : विभिन्न विषयको विशेषताले युक्त भएको व्यक्तिविशेषको निजीपन

वक्तृत्वकला : भाषण गर्ने वा प्रवचन दिने खुबी वा सिप

सहक्रियाकलाप : विद्यालयमा सञ्चालन गरिने पाठ्यक्रमका उद्देश्य पूरा गराउने विभिन्न गतिविधि जस्तै : वादविवाद, वक्तृत्वकला आदि ।

संवेगात्मक : लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न

वातावरण : प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था वा परिवेश

ऊर्जा : कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल, उत्साह, बल, शक्ति

 

 

३. दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् :

 

विनाश : विकास

आन्तरिक : बाह्य

ऋणात्मक : धनात्मक

पुरस्कार : दण्ड

सकारात्मक : नकारात्मक

प्रतिकूल : अनुकूल

 

 

४. दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

सभाध्यक्ष : विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियकलापको सभाध्यक्ष प्रधानाध्यापक हुन्छन् ।

उत्कृष्ट : प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिन राम्रो तयारी गर्नुपर्छ ।

प्रतिभा : हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ ।

स्वावलम्बी : हरेक महिला स्वावलम्बी हुन जरुरी छ ।

शिष्टाचार : प्रतियोगीले बोल्दा शिष्टाचार व्यक्त गर्नु आवश्यक हुन्छ ।

सहानुभूति : अरूको दुःखमा सहानुभूति दर्शाउनु मानवीय पक्ष हो ।

 

 

 

बोध र अभिव्यक्ति 

 

 

४. दिइएको प्रश्नको उत्तर भन्नुहोस् :

 

(क) वक्तृतामा कार्यक्रमको अध्यक्षता र सञ्चालन गर्ने व्यक्ति को को हुन् ?

उत्तर : वक्तृतामा कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक र सञ्चालन गर्ने व्यक्ति नौ कक्षाका एक विद्यार्थी हुन् ।

 

(ख) छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा कुन कुरा व्यक्त गरेका छन् ?

उत्तर : छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा गौरवान्वित भएको कुरा व्यक्त गरेका छन् ।

 

(ग) वक्तृतामा कतिओटा प्रश्नात्मक वाक्य रहेका छन् ?

उत्तर: वक्तृतामा चारओटा प्रश्नात्मक वाक्य रहेका छन् ।

 

(घ) अमृताले कुन सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ?

उत्तर : अमृताले भविष्यमा होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गर्ने अपेक्षासहितको सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ।

 

 

५. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

प्रश्नहरू :

 

(क) वक्तृतांशमा किन आफैँमा विश्वास राख्न भनिएको हो ?

उत्तर : सम्पूर्ण शक्ति व्यक्तिमा नै हुने भएकाले यसलाई उजागर गर्न वक्तृतांशमा आफैँमा विश्वास राख्न भनिएको हो ।

 

(ख) वक्तृतांशमा विफलतालाई किन शिक्षाका रूपमा लिन भनिएको होला ?

उत्तर : विफलताबाट मानिसले सफलताबाट भन्दा धेरै कुरा सिक्न सक्ने भएकाले वक्तृतांशमा विफलतालाई शिक्षाका रूपमा लिन भनिएको हो ।

 

(ग) विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?

उत्तर : विद्यार्थीमा भएको असीमित शक्तिलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै विद्यार्थीको | व्यक्तित्व विकासमा विद्यालयको भूमिका सकारात्मक र समर्पित हुनुपर्छ ।

 

(घ) गल्ती कसरी शिक्षक हुन सक्छ, तर्क दिनुहोस् ।

उत्तर : गल्तीबाट हामीले धेरै कुरा सिक्न सक्छौं । सफलताबाट जति सिकिन्छ त्योभन्दा धेरै असफलता र गल्तीबाट | सिकिने भएकाले गल्ती शिक्षक हुन सक्छ ।

 

 

६. दिइएको वक्तृतांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

प्रश्नहरू

 

(क) वक्तृतांशका अनुसार अहिले कस्तो शिक्षा प्रचलनमा रहेको देखिन्छ ?

उत्तर : वक्तृतांशका अनुसार अहिले सूचना र ज्ञान दिने खालको शिक्षा प्रचलनमा रहेको देखिन्छ । यसले विद्यार्थीको बौद्धिक विकासमा सहयोग गर्दछ । यसका लागि विद्यालयमा पढाउने, सिकाउने, कक्षाकार्य र गृहकार्य दिने गरिन्छ । विद्यार्थीहरू यिनै क्रियाकलाप गर्दै सफल भएर सफलताको प्रमाणपत्र लिएर निस्कन्छन् ।

 

(ख) समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न के गर्नुपर्छ ?

उत्तर : समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ ।

 

 

७. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) विद्यालयले कसरी विद्यार्थीको व्यक्तित्व विकास गर्न सक्छ, आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।

उत्तर : व्यक्तित्व भनेको व्यक्तिभित्र रहेका गुणको त्यो समूह हो जसले कुनै व्यक्तिलाई अर्को वा दोस्रो व्यक्तिभन्दा पृथक् राख्दछ । हरेक व्यक्तिमा शिष्टाचार, नैतिकता, आचरण, आत्मविश्वास, साहस, सोचाइ, व्यवहार, बोलीचाली र आनीबानीमा समेत झल्किने जुन भाव छ त्यो नै व्यक्तित्व हो । व्यक्तित्वको वास्तविक रूप उसको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता हो । त्यसैले विद्यालयमा विद्यार्थीको चिन्तन, सोच, आचरण तथा मनको प्रकृतिलाई अनुकूल गराउने गरी वातावरण निर्माण गर्नु र तदनुकूल शिक्षण क्रियाकलाप गर्नुले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्दछ ।

 

विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा उनीहरूको आफ्नै रुचि जे छ त्यसैमा उत्प्रेरित गरेर व्यक्तित्व विकास गर्न सकिन्छ । समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न जोड दिनुपर्छ । यसका लागि व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ । त्यस्तै व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ । व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ । विद्यालयलाई किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाउनुपर्छ र विद्यार्थीको व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माणमा जोड दिनुपर्छ । क्रियाकलाप र सहक्रियाकलापलाई सिकाइको अभिन्न अङ्ग बनाउनुपर्छ । यसप्रकार विद्यालयमा विद्यार्थीभित्र आत्मविश्वास र आत्मअनुशासनको वातावरण सिर्जना गर्नुपर्छ । विद्यार्थीमा असीमित तागत छ । त्यस तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना गर्दै व्यक्तित्व विकासमा विद्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

 

(ख) आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीले के कस्ता कार्य गर्नुपर्छ, लेख्नुहोस् ।

उत्तर : आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका सबैभन्दा प्रभावकारी र महत्त्वपूर्ण रहेको हुन्छ । यदि व्यक्ति नै आफ्नो व्यक्तित्व विकासका लागि सचेत र चनाखो भएन भने अरूले जति कोसिस गरे पनि त्यो निरर्थक हुन्छ । आफूमा सर्वाङ्गीण पक्षको विकास गराई एक असल र योग्य नागरिक बन्नका लागि विद्यार्थी स्वयम्‌को कार्य सकारात्मक र विवेकी हुनु जरुरी छ ।

 

आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थी अनुशासित, इमानदार, अध्ययनशील, जिज्ञासु, चिन्तनमनन गर्ने, खोजमा संलग्न रहने, सबैको सम्मान गर्ने हुनु जरुरी छ । विद्यालयका हरेक गतिविधिमा सक्रिय रहने र घरायसी कार्यमा पनि उत्तिकै चासो राख्ने विद्यार्थीको कार्यले नै उसको व्यक्तित्व विकासमा सहयोग गर्दछ । त्यस्तै विद्यार्थीले आफूलाई आफैँले विश्वास गर्नुपर्छ । आफूभित्र असीमित तागत रहेकोले उक्त तागतलाई सिर्जना र निर्माणमा प्रयोग गर्ने वातावरण सिर्जना विद्यार्थी स्वयम्‌को पनि हो । दरो इच्छाशक्ति र असफलता तथा कमजोरीबाट सिक्ने कार्यले हामीलाई सफलतातिर लैजान्छ । त्यस्तै अर्काको संस्कृतिको अन्धानुकरण होइन आफ्नो संस्कृतिको वैज्ञानिकीकरणले नै आफ्नो पहिचान दिलाउँछ भन्ने बोध गरी आफ्नो संस्कृतिको संरक्षण र संवर्धनको कार्य गर्नु जरुरी भइसकेको छ ।

 

यसप्रकार आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण रहन्छ । स्वप्रयासका माध्यमबाट पनि हामीले बहुमुखी व्यक्तित्व फुलाउन र समाजमा सुवास छर्न सक्छौं । सकारात्मक ऊर्जाका माध्यमबाट आफ्नो प्रतिभा प्रस्फुटित गराई राष्ट्र निर्माणमा योगदान दिन सक्छौं ।

 

 

८. माथिको वक्तृतामा अमृता नेम्वाङले भनेका कुरालाई दशओटा बुँदामा टिपोट गर्नुहोस् । 

उत्तर:

वक्ता अमृता नेम्वाङले भनेका कुराको दशओटा बुँदा :-

 

- व्यक्तिको चिन्तन, सोच, आचरण तथा मनको प्रकृति र क्षमता नै व्यक्तित्वको वास्तविक रूप

 

- विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा रुचिमा उत्प्रेरित गरेर हौस्याउँदा व्यक्तित्व निर्माण सहज बन्ने

 

- बौद्धिक व्यक्तित्वको विकासका साथै समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास र असीमित ऊर्जालाई उजागर गर्ने, सकारात्मक सोच, आत्मविश्वास जागृत गर्ने वातावरण सिर्जना गरी विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विद्यालयको दायित्व सम्बन्धमा बहस हुनु जरुरी

 

- विद्यार्थीमा रहेको अनन्त ऊर्जा जगाउने, स्वशक्तिको पहिचान, सकारात्मक सोचको विकास गरी आत्मविश्वास जगाउने काम विद्यालयले गनुपर्ने

 

- बहुभाषिक र बहुसांस्कृतिक सौन्दर्य अझ उज्यालो पार्दै विद्यमान प्रतिभा र बौद्धिकता जगाउन विद्यार्थीमुखी कार्यकलाप विद्यालयमा आवश्यक

 

- किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाई व्यक्तित्व विकासको उपयुक्त वातावरण निर्माण गर्नुपर्ने

 

- हावर्ड गार्डनरको बहुबौद्धिकताको कुरालाई ध्यान दिएर शिक्षण क्रियाकलाप सम्पन्न गरियो भने विद्यार्थीको बौद्धिक विकास हुन सक्ने

 

- डार्विनको प्रतिभालाई कक्षाकोठाको खुराकले नपुगेर उनले प्रकृतिलाई पाठशाला बनाई विकासवादको सिद्धान्त प्रतिपादन गरेका

 

- सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई विद्यार्थीभित्रको उच्च तहको सिर्जनशील चिन्तन, समीक्षात्मक चिन्तन, सञ्चार सिप, निर्णय क्षमता, समस्या समाधानलगायतका सिप विकाससित जोड्नुपर्ने

 

- भविष्यमा एक होनहार, सफल र आत्मविश्वासयुक्त नागरिक निर्माण गर्न विद्यालयले अहम् भूमिका निर्वाह गरोस् भन्ने अपेक्षा ।

 

 

९. वक्तृता कसरी सञ्चालन गरिन्छ, कक्षामा छलफल गर्नुहोस् ।

 

उत्तर : वक्तृता सञ्चालनका लागि सर्वप्रथम समसामयिक विषयवस्तुमा आधारित रहेर शीर्षक चयन गरिन्छ । उक्त शीर्षकमा कक्षागत रूपमा प्रतियोगिता सञ्चालन गरिन्छ । प्रत्येक कक्षाबाट छनोट भएका उत्कृष्ट विद्यार्थीबिचमा विद्यालय स्तरमा प्रतियोगिता सञ्चालनको तयारी गरिन्छ । उक्त प्रतियोगिताका लागि उद्घोषक छनोट गरिन्छ । प्रधानाध्यापक कार्यक्रमको अध्यक्ष रहन्छन् भने विव्यस अध्यक्ष प्रमुख अतिथिका रूपमा रहन्छन् । एक जना समयपालक रहन्छन् । तीन जना शिक्षक निर्णायकको भूमिकामा रहन्छन् । प्रतियोगी बाहेकका विद्यार्थी र अभिभावक तथा अन्य आमन्त्रित व्यक्ति दर्शकका रूपमा रहन्छन् ।

 

 

१०. 'विद्यार्थी जीवनमा अनुशासनको महत्त्व' शीर्षकमा छोटो वक्तृता तयार पार्नुहोस् । 

 

उत्तर :

 

विद्यार्थी जीवनमा अनुशासनको महत्त्व (वक्तृता)

 

आदरणीय सभाध्यक्ष महोदय ! प्रमुख अतिथिज्यू, गुरुवर्ग, निर्णायक मण्डल एवम् मेरा प्रतिस्पर्धी तथा सम्पूर्ण मित्र ! आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्न पाउँदा म गौरवान्वित छु । आजको वक्तृताको विषय छ, 'विद्यार्थी जीवनमा अनुशासनको महत्त्व ।' सभाध्यक्ष महोदय !

 

सबैभन्दा पहिला म अनुशासनको अर्थ भन्न चाहन्छु । 'शासन' शब्दमा 'अनु' उपसर्ग लागेर 'अनुशासन' शब्द बनेको हो । यसको अर्थ 'नियममा बस्नु' भन्ने हुन्छ । तसर्थ हामीले नियमको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नु र कुनै पनि कार्य गर्नुलाई अनुशासन भनिन्छ । सफलता प्राप्त गरी निरन्तर अगाडि बढ्नका लागि अनुशासन हरेक व्यक्तिका लागि हरेक क्षेत्रमा आवश्यक पर्छ । अझ विद्यार्थी जीवनमा अनुशासनको निकै महत्त्व रहेको हुन्छ ।

 

श्रद्धेय महानुभावहरू !

अनुशासन विद्यार्थी जीवनको लागि नभई नहुने कुरा हो । उहिले ऋषिमुनिहरूको आश्रममा ज्ञान आर्जन गर्नका लागि जाने शिष्यहरूका लागि अनुशासनलाई निकै जोड दिइन्थ्यो । सामान्य व्यक्ति मात्र होइन त्यहाँ अध्ययन गर्न जाने राजकुमारहरूले समेत उक्त अनुशासनको पालना गर्नुपर्थ्यो । यसबाट पनि हामी अनुशासनको विद्यार्थी जीवनमा कति महत्त्वपूर्ण रहेछ मनन गर्न सक्छौं ।

 

अनुशासनमा रहनु भनेको सफलतातिर अग्रसर रहनु पनि हो । अनुशासनमा रहने विद्यार्थी नै शिक्षकको प्रिय बन्न सक्छ । विद्यालयका हरेक गतिविधिमा हामीले ध्यान दियौं भने अनुशासित विद्यार्थीले नै सफलता हासिल गरिरहेको हुन्छ । अनुशासनमा रहने व्यक्ति नै सबैको लागि उदाहरणीय बन्न सक्छ । कतिपय शिक्षक तथा विद्यार्थीले अनुशासनलाई हाउगुजी मानेको समेत पाइन्छ । तर अनुशासन आफूले तोकिएको नियममा रहेर तोकिएको कार्य इमानदार भएर गर्नु हो । अनुशासन तोकिएको आचारसंहिताको पालना पनि हो ।

 

यसर्थ हरेक क्षेत्रमा उत्तिकै महत्त्व रहेको अनुशासन विद्यार्थी जीवनमा झनै महत्त्वपूर्ण छ । हामी विद्यार्थी भविष्यका कर्णधार भएकाले हाम्रो उन्नति प्रगति राष्ट्रको उन्नति प्रगतिसँग पनि जोडिएको हुन्छ । तसर्थ हामीले असल नागरिक बन्न अनुशासनमा जोड दिनु आवश्यक छ भन्दै म मेरो भनाइ यहीँ बन्द गर्दछु । धन्यवाद !

 

 

११. तलको दैनिकीको नमुना पढ्नुहोस् र तपाईंले भ्रमण गरेको कुनै एउटा रमणीय स्थलको विषयवस्तु समेटी एक दिनको दैनिकी तयार पार्नुहोस् :

 

उत्तर :

 

दैनिकी

रातको ८ बजे                        २०७९ पुस १०

 

आज पुस १० गते, म बिहान सबेरै उठेँ । बाहिर चराचुरुङ्गी चिरबिर स्वरमा कराउँदै थिए । घुम्न जाने उत्साहले होला सधै उठिरहने समयभन्दा छिटो उठेछु । हातमुख धोएर, खाजाखाइसकेपछि पो अर्लाम बज्यो । ममीले हिजै भन्नुभएको थियो,“भोलि हतार हुन्छ । जाँदा आवश्यक पर्ने सामान तयार गरिहाल्नु है आजै ।" मैले आमाले भन्नुभएपछि हिजै झोला तयार गरिसकेको थिएँ । त्यसपछि घुम्न जाने हाम्रो पूर्वयोजनाअनुसार म तयार हुन थालें ।

 

बिहान ६ बजे,“कति समय लगाउनुभएको हिँड्नु छिटो ।" भन्दै भाइ आइपुग्यो र हामी उकालो चढ्न थाल्यौं । यात्रामा म र भाइ थियौं । हाम्रो गन्तव्यय थियो ककनी र त्यहाँ पुगेर हिउँ खेल्ने । पसिना बगाउँदै, गफ गर्दै जाँदाजाँदै ३ घण्टा कसरी बित्यो पत्तै भएनछ । हामी करिब ९ बजेतिर मानेभन्ज्याङमा पुग्यौं । त्यहाँ पुगुन्जेल भोकले तिरिमिर भइसकेका थियौं । घरबाट लगेको खाजा खायौं र निकै चिसो भएकाले नजिकैको होटलमा छिरेर दुई दुई कप चिया खायौं । करिब १ घण्टा हिँडेपछि हामी ककनी पुग्यौं त्यहाँ हिउँले सेताम्यै भएको थियो । त्यहाँबाट हिमालको दृश्य झनै मनमोहक थियो । अनि हामी हिउँका डल्लाले एकअर्कालाई हान्दै खेलिरहेको तस्बिरहरू खिच्यौ । भिडियो पनि बनायौँ । अनि नजिकैको होटेलमा गएर नास्ता गर्यो । अनि करिब ३ बजेतिर घर फर्कियौं । पहिलोचोटी मैले हिउँको अनुभव गर्न पाएकोले निकै रमाइलो लाग्नुको साथै थकाइ पनि लागेको थियो । अनि बेलुकाको खाना खाएँ र त्यसपछि छोटो दैनिकी तयार पारी राती ८:३० बजेतिर सुतें ।

 

 

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

क) उत्तर दिनुहोस् :

 

अ) बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक को हुन् ?

= बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक हार्बड गार्डनर हुन् । 

 

आ) बौद्धिकताका प्रकार उल्लेख गर्नुहोस् ?

= भाषिक, तार्किक गणितिय स्थानिक दृश्यात्मक, प्राकृतिक, साङ्गीतात्मक, शारीरिक गतिबोधनक, अन्तरवैयक्तिक र अन्तः वैयक्तिक गरी आठ प्रकारका बौद्धिकता हुन्छन् ।

 

इ) भाषिक बौद्धिकताअन्तर्गत पर्ने कुरा के हो ? 

= भाषिक बौद्धिकताअन्तर्गत मौखिक र लिखित रूपमा प्रभावकारी ढङ्गले भाषा प्रयोग गर्ने क्षमता पर्दछ ।

 

ई) तपाईंमा मुख्य रूपमा कुन बौद्धिकता रहे जस्तो लाग्छ ?

= ममा मुख्य रूपमा भाषिक बौद्धिकता रहे जस्तो लाग्छ।

 

ख) भाषा संरचना पहिचान गर्नुहोस् :

 

अ) अनुच्छेदमा भएका कुनै दुई पारिभाषिक शब्द लेख्नुहोस् ।

= गणितीय, दृश्यात्मक

 

आ) अनुच्छेदबाट एकवचन र बहुवचनका एक एकओटा क्रियापद टिप्नुहोस् ।

एकवचन : गर्छ 

बहुवचन : पर्छन्

 

इ) अनुच्छेदबाट श, ष, स प्रयोग भएका एक एकओटा शब्द लेख्नुहोस् । 

= शिक्षण, विशेषता, सामान्यतया

 

ई) 'हाउभाउ' र 'रुचि' शब्दको अर्थ लेख्नुहोस् ।

= हाउभाउ : अनुहार वा शरीरको भाषा

रुचि : चाहाना, इच्छा

 

 

१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

 

राजकिशोरले कक्षाको राम्रोसँग नेतृत्व गरे झैँ कक्षाका साथीको नेतृत्व गर्नका लागि नेतृत्वकर्ताका रूपमा मन्तव्य व्यक्त गर्नुहोस् ।

 

= सम्पूर्ण आदरणीय साथीहरू,

म तपाईहरूकै चिरपरिचित साथी उमेश प्रधानको तर्फबाट नमस्कार । अहिले विद्यालयबाट विद्यार्थीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक नेतृत्व चयन गर्ने प्रक्रियमा एउटा उम्मेदवारको रूपमा म तपाईंहरूका समक्ष उभिएको छु ।

 

मैले सधै भरि विद्यालय र विद्यार्थीहरूको बिचमा एउटा पुलको भूमिका निर्वाह गर्ने छु । विद्यार्थीहरू समस्यालाई विद्यालयसम्म पुन्याउने र समाधानको लागि पहल गर्ने छु । कसैलाई कुनै आधारमा भेदभाव नगरी समान व्यवहार गर्ने छु । सबै साथीहरूलाई असल काममा प्रेरित गरी विद्यालयको वातावरण राम्रो बनाउने प्रयास गरिरहने छु । मलाई तपाईंहरूको साथ र सहयोग प्राप्त भएपछि सबैको हितमा उदाहरणीय काम गर्ने छु । तपाईंको सहयोग अवश्य पाउँछु भन्ने विश्वास छ ।

10. व्यक्तित्व विकासमा विद्यालयको भूमिका 

bottom of page