top of page

15. आमाको तस्वीर 

 

शब्दभण्डार

 

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

 

शब्द                               अर्थ

 

अँजुली - दुई उत्ताना हत्केला जोडी बनाइएको हातको मुद्रा

धमिलो - राम्रोसँग नदेखिने

ठेला - काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो

चक्र - गोलो घेरा

पृथ्वी - धर्ती

भकारो - गाई, भैंसी आदि पशुहरूको मल, मलमूत्र 

पासपोर्ट - विदेश जानका निम्ति सरकारले दिने अनुमतिपत्र, राहदानी

पानीजहाज - ठुला नदी वा समुद्रमा सामान वा मान्छे ओसारपसार गर्ने साधन

 

 

२. दिइएका शब्दको विपरीतार्थी शब्द पाठबाट खोजेर लेख्नुहोस् :

 

बिपना : सपना, सहज : कठिन, उकाली ओराली, सुख : दुःख, माथि : तल, पाताल : आकाश

 

 

३. दिइएका पद तथा पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 

जाँतो - आमाले जाँतोमा मकै पिन्नुभयो ।

पिठिउँ - आमाले आफ्नो सन्तानलाई काम गर्दा पनि पिठिउँमा बोक्छिन् । 

सात समुद्र - काम र मामकै लागि धेरै नेपालीहरू समुद्रपारि गएका छन् ।

बिमारी - हामीले बिमारी भएका समयमा स्वास्थ्यको राम्रो ख्याल गर्नुपर्छ । 

भासिनु - विदेश जानु भनेको दलदलेमा भासिनु जतिकै हो ।

पिआर - पिआरको चक्करमा धेरै नेपालीले नेपाली हुनुको गौरवसमेत बेचेका छन् ।

 

 

बोध र अभिव्यक्ति

 

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

अँजुली, चक्र, समुद्र, पृथ्वी, आङ, दलदले

 

२. कविता गति, यति र लय मिलाई सस्वरवाचन गर्नुहोस् ।

 

३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

 

प्रश्नहरू

(क) माथिको कवितांशमा सबैभन्दा बढी र सबैभन्दा कम शब्द सङ्ख्या भएका पङ्क्ति भन्नुहोस् । 

उत्तर : माथिको कवितांशमा सबैभन्दा बढी शब्द सातौं पङ्क्तिमा र सबैभन्दा कम शब्द सङ्ख्या नवौं पङ्क्तिमा छ ।

 

(ख) कवितांशको सातौं पङ्क्तिलाई व्याकरणिक पदक्रम मिलाई भन्नुहोस् । 

उत्तर : अब त तिम्रो दैनिकी फेरिनु पर्थ्यो ।

 

(ग) 'आमाको पृथ्वीमा दुःखको मौसम' भन्नुको अर्थ के हो ?

उत्तर : 'आमाको पृथ्वीमा दुःखको मौसम' भन्नुको अर्थ बुढेसकालमा पनि आमाले सकिनसकी दुःख गरिरहनु भन्ने हो ।

 

(घ) आमाको ढाड कुप्रिनाको खास कारण के हो ?

उत्तर : आमाको ढाड कुप्रिनाको खास कारण डोकाको घाँसमाथि सन्तानलाई राखेर उकाली ओराली गर्नाले हो ।

 

 

४. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) कवितामा कविले आमाका बारेमा धमिलोसँग सम्झेका कुरा के के हुन् ?

 

उत्तर : आमाले पिठिउँमा बोकेर लोरी गाउँदै जाँतो घुमाएको, पाँच छ वर्ष भएपछि जाँतो नजिकै राखेर सुनकेसरी मैया र मधुमालतीको कथा सुनाएको अनि जाँतो घुमाउने जिद्दी गर्दा स्नेहले सक्दैनस् अहिले कलिलो हत्केलामा ठेला उठ्छ भनेको कुरा कवितामा कविले आमाका बारेमा धमिलोसँग सम्झेका कुरा हुन् ।

 

(ख) दुनियाँको सबैभन्दा प्यारो आमाको काखलाई म पात्रले किन बिर्सेका रहेछन् ?

 

उत्तर : दुनियाँको सबैभन्दा प्यारो काख भनेको आमाको काख हो । म पात्रले पासपोर्ट, भिसा र पिआरको चक्कर लगाउँदा तथा घर, गाडी र सम्पत्तिको किस्ता तिर्दा दुनियाँको सबैभन्दा प्यारो आमाको काखलाई बिर्सेका रहेछन् ।

 

(ग) विदेशमा कमाएको पैसाले आमाका लागि के के गर्न सकेको देखिँदैन ?

 

उत्तर : विदेशमा कमाएको पैसाले आमाका लागि घरको दैलो पोत्न, झिसमिसेमै पँधेराबाट पानी ल्याउन, गोठको भकारो फाल्न, घाँस काट्न र जङ्गलबाट दाउरा ल्याउन सकेको देखिँदैन ।

 

(घ) 'म' पात्र देश फर्कने जहाजको यात्री बन्न नसक्नुको कारण के होला ?

 

उत्तर : विदेशको दलदलेमा फसेको तथा भौतिक सुखसुविधामा मात्र बढी ध्यान दिएका कारण 'म' पात्र देश फर्कने जहाजको यात्री बन्न नसकेको होला ।

 

५. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् : 

(क) उत्तर दिनुहोस् :

 

(अ) सामाजिक सञ्जाल भनेको के हो ?

उत्तर : सामाजिक सञ्जाल भनेको मोबाइल तथा कम्प्युटरमा इन्टरनेटका माध्यमबाट समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने एक प्रकारको सञ्चार माध्यम हो ।

 

(आ) सामाजिक सञ्जालको सदुपयोग कसरी गर्न सकिन्छ ?

उत्तर : सामाजिक सञ्जालको सदुपयोग सूचना तथा जानकारी लिएर, समाचार हेरेर, सामाजिक सचेतनाको स्तर वृद्धिमा सहयोग पुयाएर गर्न सकिन्छ ।

 

(इ) सामाजिक सञ्जाल प्रयोगकर्ताले कुन कुरामा सावधानी अपनाउनुपर्छ ?

उत्तर : सामाजिक सञ्जाल प्रयोगकर्ताले कतिपय संवेदनशील घडीमा मानसिक त्रास र जोखिम नहोस् भन्ने कुरामा सावधानी अपनाउनुपर्छ ।

 

(ई) किन सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको देखिन्छ ?

उत्तर : मानिसलाई सशक्त रूपमा जोड्दै सबै जना रमाउन सकिने भएकाले सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको देखिन्छ ।

 

(ख) भाषा संरचना पहिचान गर्नुहोस् :

 

(अ) 'आशा' शब्दको विपरीतार्थी शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर : आशा - निराशा - निराशामा रहेर मानिसले उन्नति गर्न सक्दैन ।

 

(आ) 'साँघुरो' र 'विकर्षण' शब्दको विपरीतार्थी शब्द अनुच्छेदबाट खोजेर लेख्नुहोस् ।

उत्तर : साँघुरो फराकिलो, विकर्षण - आकर्षण

 

(इ) अनुच्छेदमा रहेको 'कतिपय संवेदनशील घडीमा मानसिक त्रास र जोखिमसमेत थपिदिएको देखिन्छ' वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस् ।

उत्तर : हामी कतिपय संवेदनशील घडीमा मानसिक त्रास र जोखिमसमेत थपिदिएको देख्छौँ ।

 

(ई) 'यसैमा सबै जना रमाउँछन्' वाक्यलाई भाववाच्यमा परिवर्तन गर्नुहोस् ।

उत्तर : यसैमा सबै जना रमाइन्छ ।

 

 

६. 'आमाको तस्बिर' कविताका आधारमा आमाले छोराछोरीप्रति गर्ने माया ममताको चर्चा गर्नुहोस् ।

 

उत्तर : 'आमाको तस्बिर' कवि भूपिन खड्का (वि.सं. २०३०) द्वारा रचना गरिएको गद्य शैलीको उत्कृष्ट कविता हो । कवि भूपिन समसामयिक नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने युवा साहित्यकार हुन् । यस कवितामा कवि भूपिनले आमाले छोराछोरीप्रति गर्ने माया ममताको चर्चा निकै मार्मिक ढङ्गले गरेका छन् ।

 

बाबुको मृत्यु भएपछि आमाले सन्तान हुर्काउनका लागि निकै कष्ट सहनु पर्छ । अँजुलीभरि सपनाको घान हालेर जाँतो चलाउनुपर्छ । आमाले पिठिउँमा सन्तान बोकेर लोरी गाउँदै जाँतो घुमाउँछिन् । सन्तानको उमेर बढ्दै गएपछि जाँतो छेउमा राखेर कथा सुनाउँदै जाँतो चलाउँछिन् । सन्तानले जाँतो चलाउने जिद्दी गर्दा स्नेहले सक्दैन अहिले कलिलो हत्केलामा ठेला उठ्छ भनेर सम्झाउँछिन् । आफ्नै ढाड कुप्रो बनाएर सन्तानलाई डोकाको घाँसमाथि राखेर उकाली ओराली गर्छिन् । सन्तानलाई सधैँ सुखमा राखेर आफूले हातमा ठेला उठाउँछिन् । दैलो पोत्नु, झिसमिसेमै पँधेरोबाट पानी ल्याउनु, भकारो फाल्नु, घाँस काट्नु, दाउरा ल्याउनु आमाका दैनिकी हुन् । यी सबै गरेर एउटी आमाले सन्तानलाई ठुलो बनाउँछिन् । ठुलो भएपछि सन्तानले आमाका लागि केही नगरे पनि आमा भने सन्तान सधैँ खुसी र सुखी रहोस् भन्ने कामना गर्छिन् । सन्तानप्रति आमाको स्नेह स्वार्थरहित हुन्छ ।

 

यसप्रकार आमाले अनेक दुःखकष्ट सहेर भए पनि सन्तानलाई हुर्काएकी हुन्छिन् । आफू दुःखमा रहेर पनि सन्तानलाई सुख दिन्छिन् । छोराछोरीले आमाका लागि बुढेसकालमा केही नगरे पनि छोराछोरीको प्रगति र सुखमा रमाउने निस्वार्थ देवी र ममताकी खानीका रूपमा कवितामा कविले आमाको माया ममताको चर्चा गरेका छन् ।

 

७. 'म' पात्र स्वदेशमै रहेको भए आमाको दु:ख कसरी हटाउँथ्यो होला, कविताका आधारमा लेख्नुहोस् । 

 

उत्तर : कविताको 'म' पात्र स्वदेशमै रहेको भए दुनियाँको सबैभन्दा प्यारो आमाको काखलाई बिर्संदैनथ्यो । आमाका लागि पनि केही सोच्दथ्यो । आमाको दमको रोग, आङ खस्ने बिमारको उसले उचित उपचारको प्रबन्ध मिलाउँथ्यो । जाँतोसँगै एक्लै बर्बराएर बाँच्नुपर्ने आमाको अवस्था रहँदैनथ्यो । घरको दैलो पोत्ने, पँधेराबाट पानी ल्याउने, गोठको भकारो फाल्ने, खोरियाबाट घाँस काट्ने, जङ्गलबाट दाउरा ल्याउने जस्ता काम आमाले बुढेसकालमा गर्नुपर्दैनथ्यो । यी सबै काम छोराले गरेर आमाको बुढेसकालको सहाराका रूपमा रही 'म' पात्रले आमाको दुःख हटाउँथ्यो होला ।

 

८. दिइएका श्लोकलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् :

 

(क) मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो झैँ ।

- मेरै जीवनको चक्र त्यही जाँतो झैँ घुम्यो ।

(ख) झिसमिसेमै गएर ल्याएनछ पानी पँधेराबाट ।

- झिसमिसेमै गएर पँधेराबाट पानी ल्याएनछ ।

 

९. दिइएको कवितांशको व्याख्या गर्नुहोस् :

जब जाँतो घुमाउन सक्ने भएँ

मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो

र म उड्नुपयो सात समुद्रपारि ।

 

उत्तर : प्रस्तुत कवितांश 'आमाको तस्बिर' शीर्षकको कविताबाट साभार गरिएको हो । गद्य शैलीमा संरचित यस कविताका रचनाकार कवि भूपिन खड्का (वि.सं. २०३०) हुन् । ठुलो भएपछि विदेसिनु परेको पीडालाई माथिको कवितांशमा चर्चा गरिएको छ ।

 

आमा लोरी सुनाउँदै पिठिउँमा 'म' पात्रलाई बोकेर जाँतो घुमाउँथिन् । अलि ठुलो भएपछि जाँतो छेउमा राखेर विभिन्न कथाहरू सुनाउँदै जाँतो घुमाउँथिन् । 'म' पात्र जाँतो घुमाउने जिद्दी गर्थ्यो तर आमा स्नेहले 'सक्दैनस् बाबु अहिले कलिलो हत्केलामा ठेला उठ्छ' भन्थिन् । समय क्रमसँगै 'म' पात्र ठुलो भयो । जाँतो घुमाउन सक्ने अर्थात् आमाको काम सघाउन सक्ने भयो तर उसको जीवनचक्र जाँतो झैँ घुम्न पुग्यो । ऊ विदेसिन बाध्य भयो । छोरो विदेशमा भौंतारिँदा आमाको दु:ख भने आमासँगै रहन गयो भन्ने कुरा माथिको कवितांशमा कविले स्पष्ट पारेका छन् । यसप्रकार गद्य लयमा संरचित माथिको कवितांशका माध्यमबाट कविले ठुलो भएपछि सन्तान विदेसिने र आमाको काम सघाउँछु भन्ने छोरो विदेशमै अल्मलिने अवस्थाले हरेक आमा मात्र नभएर नेपाल आमासमेत दुःखको भुमरीमा फस्दै गएको वर्तमानको तितो यथार्थलाई स्पष्ट पार्न खोजिएको छ ।

 

१०. दिइएको अनुच्छेद पढ्नुहोस् । त्यस्तै गरी 'मलाई मन पर्ने ठाउँ' शीर्षकमा भावात्मक अनुच्छेद तयार पार्नुहोस् : 

 

 मलाई मन पर्ने ठाउँ : 

नेपाल प्रकृतिको अनुपम उपहार हो । यहाँका थुप्रै ठाउँ हेर्न र घुम्न लायक छन् । ती मध्ये मलाई मुस्ताङदेखि मुक्तिनाथसम्मको स्थान साह्रै मनमोहक लाग्छ । ती ठाउँमा गएपछि मलाई फेरि फर्कन मन लाग्दैन । यस्तो लाग्छ त्यहाँका सुन्दर दृश्यपान गरेर बसिरहूँ । कागबेनीदेखि मुक्तिनाथसम्म जाँदा बाटोमा देखिने हरियालीविहीन डाँडा निकै मनमोहक र कलात्मक देखिन्छ । नजिकै रहेका धवलागिरि र नीलगिरि यात्रुलाई स्वागत गर्नकै लागि भनेर नित्यनिरन्तर खडा भइरहेका जस्ता देखिन्छन् । कतिपय त्यहाँका दृश्यहरू त स्वर्गका टुक्रा नै खसेजस्तो लाग्छ । जो कोही त्यहाँ पुगे पनि उसलाई स्वर्गीय आनन्दको अनुभूति जागृत हुन्छ । अझ मुक्तिनाथ मन्दिर र त्यहाँ वरपरको दृश्य हेर्दा त जो कोही व्यक्ति पनि मोक्षको अनुभूति गर्न बाध्य हुन्छ त्यहाँको वातावरणले । मुक्तिनाथ विश्वलाई नै धार्मिक सहिष्णुताको पाठ सिकाउने पवित्र भूमि पनि हो । ज्योतिको दिव्य धाम र प्रकृतिको सुन्दर क्रीडास्थलका रूपमा रहेको मुक्तिनाथको दर्शन गर्न आउने जो कोहीलाई पनि मलाई झैँ अनुभूति लाग्छ होला सायद ।

 

 

भाषिक संरचना र वर्णविन्यास

 

 

२. दिइएको अनुच्छेदबाट कर्तृवाच्य र भाववाच्यका क्रियापद टिप्नुहोस् :

 

कर्तृवाच्यका क्रियापद :- उठ्छु, उठ्छ, लाग्ने छौं, पुग्छौं, घुम्ने छौं, बस्छौं, फर्कन्छौं, 

भाववाच्यका क्रियापद :- हिँडिने छ पुगिने छ, घुमिने छ, बसिने छ, आइने छ,

 

३. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाच्य परिवर्तन गर्नुहोस् :

 

(क) हामी भ्रमणमा गएका थियौं । (भाववाच्य) 

: हामीद्वारा भ्रमण गइएको थियो ।

(ख) हिलामा लडिएछ । (कर्तृवाच्य) 

: म हिलामा लडेंछु ।

(ग) समयमा बासस्थान पुगियोस् । (कर्तृवाच्य) 

: हामी समयमा बासस्थान पुगौं ।

(घ) हामी नौ बजे विद्यालय हिँड्थ्यौं । (भाववाच्य) 

: हामीद्वारा नौ बजे विद्यालय हिँडिन्थ्यो ।

(ङ) साथीहरू कक्षामा ध्यानपूर्वक बस्दै हुने छन् । (भाववाच्य) 

: साथीहरूद्वारा कक्षामा ध्यानपूर्वक बसिँदै हुने छ । 

(च) तरकारी किन्न बजार हिँडियो । (कर्तृवाच्य) 

: हामी तरकारी किन्न बजार हिँड्यौं ।

 

 

४. पाठबाट कुनै पाँचओटा अकर्मक क्रियापद टिपोट गरी भाववाच्यमा परिवर्तन गर्नुहोस् ।

 

पाँचओटा अकर्मक क्रियापद :- उठ्छ - उठिन्छ, भएँ - भइयो, भासिन्छु - भासिइन्छ, जान्छ - गइन्छ, पुग्छ - पुगिन्छ 

 

५. हिँड्नु, डुल्नु, जानु, बस्नु जस्ता धातुबाट बन्ने क्रियापदको प्रयोग गरी दुई जना साथीका बिचमा भाववाच्यमा कुराकानी गर्नुहोस् ।

 

उत्तर : कमला : आज त घुम्न गइयो ।

कमल : हो त नि, आज खुब डुलियो ।

कमला : तिमी त वेला वेलामा बस्यौ, आफू त निकै हिँडियो है ।

कमल : थकाइ लागेपछि वेला वेलामा बसियो नि ।

 

६. दिइएको अनुच्छेद पढ्नुहोस् र 'ऋ' र 'रि' लागेर बनेका शब्द कापीमा टिप्नुहोस् :

 

'ऋ' लागेर बनेका शब्द :- ऋषभ, ऋचा, ऋषिकेश

'रि' लागेर बनेका शब्द :- रिडी, रिजाल, रीतिरिवाज, रिबन

 

७. दिइएको अनुच्छेदलाई 'ऋ' र 'रि' को उपयुक्त प्रयोग गरी पुनर्लेखन गर्नुहोस् :

 

वसन्त ऋतुमा पृथ्वीमा हरियाली छाउने हुनाले कृषक अत्यन्त खुसी हुन्छन् । उनीहरू ऋण खोजेर भए पनि | खेतीपातीमा जुट्छन् । किसानहरू परिश्रमी हुनाले उनीहरूको हात रित्तो हुँदैन । उनीहरू आफ्नो संस्कार, संस्कृति तथा रीतिरिवाजलाई कहिल्यै बिर्संदैनन् ।

bottom of page